नेपालमा अलैंची खेतीको सम्भाव्यता र किसानका समस्याहरु

ज्ञानमणि नेपाल 'कालोटोपी'
नेपालमा कतिपय ठाउँहरु कृषि उत्पादनका हिसाबले कुनै न कुनै रुपमा पकड क्षेत्रको रुपमा परिचित छन् । जस्तै आलु उत्पादनका लागि काभ्रेको पाँचखाल प्रमुख रुपमा आउँछ भने स्याउका लागि जुम्ला, सुन्तलाका लागि मनकामना, गोलभेंडाका लागि सर्लाही, चिया र अकबरे खुर्सानीका लागि इलामका साथै धान उत्पादनका लागि तराईका केही जिल्लाहरु । यहाँ उत्पादित यस्ता कृषि उपजहरुले उल्लेख्य रुपमा बजार पाउने गरेका छन् । यस्तै नगदे बालीका रुपमा लिइने गरिएको र विशेषगरी नेपालका पहाडी जिल्लाका सेपीलो ठाउँहरुमा धेरै उत्पादन हुने अलैंची पनि पछिल्ला दिनहरुमा एक उल्लेख्य बालीका रुपमा रहेको छ ।

हिजोआज अलैंचीबाट सोचेभन्दा धेरै फाइदा आउन थालेपछि सम्बन्धित क्षेत्रका कृषकहरुले यसलाई खोल्साभित्रको कालो सुनका रुपमा लिने गरेका छन् । अलैंची खेतीका लागि उनीहरुले कुनै तालिम लिएका छैनन् । न सरकारले उनीहरुलाई कुनै सहयोग नै गरेको छ । कहिले काहीँ अलैंचीमा धेरै प्रकारका रोगहरु लागेर फल नै कुहिने समस्या पनि उस्तै छ । यसरी अभाव र अप्ठ्याराहरु बीच उत्पादन गरेको भए पनि नेपालको अलैंचीले स्वदेशको बजारमा त आफ्नो ठाउँ बनाएकै छ यसका अतिरिक्त विदेशका धेरै ठाउँहरुमा पनि आफूलाई परिचित बनाएको छ ।

विगत केही वर्षयता अलैंची नेपालको प्रमुख निर्यात वस्तुका रुपमा रहँदै आएको छ । चालू आर्थिक वर्षको हालसम्मको समयमा दुई अर्ब ७१ करोड ६१ लाख रुपैयाँ बराबरको अलैंची निर्यात भएको छ । यो अघिल्लो वर्षको तुलनामा ५२ प्रतिशतले धेरै हो । गएको ५ वर्ष अगाडिसम्म अलैंचीको मूल्य त्यति धेरै थिएन । प्रतिकेजी ३ सय रुपैयाँ रहेको अलैंची त्यसयता प्रतिकेजी ३ हजार रुपैयाँभन्दा माथिसम्म पुग्यो । यो अहिलेसम्मकै उच्च मूल्य हो । यसरी मूल्य आकाशिएपछि नेपाली कृषकहरु पछिल्ला दिनहरुमा अलैंची खेतीलाई अझ व्यावसायिक बनाउन तल्लिन छन् । त्यसैले प्रत्येक वर्ष अलैंची उत्पादनले उच्च गति लिन थालेको देखिएको छ ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार विगत वर्षहरुमा अलैंचीको निर्यात यस्तो रह्यो । आर्थिक वर्ष ०६७/०६८ मा २ अर्ब ४ करोड ३७ लाख रुपैयाँको अलैंची निकासी भएको थियो । त्यस्तै वर्ष ०६८/०६९ मा ३ अर्ब ४९ करोड ६७ लाख रुपैयाँको अलैंची निर्यात भयो । यसैगरी आर्थिक वर्ष ०६९/०७० मा ३ अर्ब ८५ करोड रुपैयाँ बराबरको निर्यात भएको देखिन्छ । ०७०/०७१ मा ४ अर्ब २७ करोड रुपैयाँ र ०७१/०७२ मा ३ अर्ब ८४ करोड रुपैयाँ बराबरको अलैंची निर्यात भएको थियो । यसरी हेर्दा वर्ष ०७१/०७२ मा भने पछिल्ला वर्षहरुको तुलनामा निर्यात केही मात्रामा घटेको छ तर पनि यो ज्यादै निराशाजनक निर्यात भने होइन । यो नेपालमा खपत भएर बाहिर पठाइएको अलैंचीको तथ्यांक हो । यसर्थ कुल उत्पादन भने कति छ, त्यसको तथ्यांक निकाल्न सकिएको छैन ।

विगत वर्षहरुमा प्रतिमन (४० केजी ) अलैंचीको १ लाख रुपैयाँभन्दा धेरैमा बिक्री भएको भए पनि गतवर्ष ९५ हजारमा मात्र बिक्री भएको थियो । यसवर्ष त्यति नै परिमाणको अलैंचीको ८० हजार वा यो भन्दा पनि कम रुपैयाँमा बिक्री भइरहेको बताइएको छ । यसरी मूल्य घट्दै गएका कारण उत्पादन धेरै भए पनि कम मूल्यमा बेच्नुपर्दा कृषकहरुलाई पहिलेभन्दा केही घाटा हुँदै आएको छ । यद्यपि मूल्यमा यस्तो उतार–चढाव आई नै रहने हुँदा कृषकहरु डराउनुपर्ने अवस्था भने नआएको बुझिएको छ । केही समयपछि अलैंचीको मूल्य पहिलेभन्दा पनि बढ्न सक्ने सम्बन्धित विज्ञहरुको अनुमान छ ।

हुन त नेपालको अलैंचीले विश्वका थुप्रै देशहरुमा ठाउँ जमाएकै छ । तर पनि धेरै अलैंची भारतमा जान्छ । नेपालले विश्वका देशहरुमा सिधै व्यापार गर्न नसकिएका कारण भारतले नै महँगोमा अरु देशमा पठाउँदै आएको छ । यसले नेपालको अलैंचीले अझ उपयुक्त मूल्य नपाएको देखिन्छ । भारतका अतिरिक्त पाकिस्तान, सिँगापुर, यूएई, बंगलादेश, भुटान र जापानसम्म नेपालको अलैंची जान्छ । विश्वमा अलैंची उत्पादनको उपयुक्त वातावरण निकै कम छ । तर नेपालका विशेषगरी पूर्वी पहाडी जिल्लाहरु इलाम, ताप्लेजुङ, पाँचथर, संखुवासभा, धनकुटा, भोजपुर, सिन्धुपाल्चोक, काभ्रेलगायतमा अहिले धेरै मात्रामा यसको उत्पादन हुने गरेको छ । योभन्दा अझ धेरै उत्पादन पनि हुनसक्छ । तर सरकारले ती क्षेत्रलाई अलैंची उत्पादनको पकड जिल्लाको रुपमा घोषणा गर्दै सम्बन्धित कृषकहरुलाई अलैंची खेतीतर्फ अझै प्रेरित गराउने कार्यक्रम भने ल्याउनै पर्छ । आगामी दिनहरुमा यसले निकै राम्रो प्रभाव जमाउन सक्ने कृषि विज्ञहरु बताउँछन् ।

यसरी अलैंचीले राम्रो व्यवसायीकता पाएपछि सरकारले पनि पछिल्ला दिनहरुमा अलैंची उत्पादनलाई केही मात्रामा प्राथमिकतामा राख्ने बताएको छ । तर कुनै उल्लेख्य काम भने अझै हुन सकेको छैन । सरकारका धेरै योजनाहरु कागजमै सीमित भएको देखे/सुनेका कृषकहरु यस्ता सस्ता योजनाहरुलाई त्यति सहजै विश्वास गर्दैनन् । अहिले उत्पादन भइरहेको अलैंची पुरानै अवस्थाको हो । खेती गर्ने तरिका पुरानै छ, बीउ पनि पहिलेकै हो । आधुनिक तरिकाको खेती गर्नै सकिएको छैन । तैपनि यति उत्पादन र निर्यात हुनुलाई कृषकहरुले निकै ठूलो उपलब्धिको रुपमा लिएका छन् ।

नेपालमा निर्यात सम्भाव्यतामा धेरै कृषि उत्पादनहरु छन् । गलैंचा, नेपाली प्रशोधित छाला, ऊन, चिया, कफी र यार्सागुम्बालगायतका नेपाली उत्पादनले यतिबेला अन्तर्राष्ट्रिय बजारमा आफूलाई स्थापित बनाएका छन् । यसैक्रममा अलैंची पनि अर्को निर्यातजन्य उत्पादन हो । हुन त नेपालमा सयौं थरी कृषि उत्पादन सम्भव छ । उत्पादन भएका धेरैजसो वस्तुहरु नेपालमै मात्र खपत हुन्छन् । सीमित वस्तुहरुले मात्र आफूलाई अन्तर्राष्ट्रिय बजारमा चिनाएका छन् । ती सीमित वस्तुमध्ये पनि पहिलो नम्बरमा रहेको नेपाली अलैंचीलाई विश्वका अझ धेरै राष्ट्रहरुमा पु-याउन र अझ धेरै कृषकहरुलाई यसतिर अभिप्रेरित गराउन अहिलेको जति सरकारी प्रयासले मात्र पुग्दैन । किनकि नेपालमा अलैंची उत्पादन हुन सक्ने हावापानी र उत्पादन हुने जमिन पनि धेरै नै छ । पहाडी ठाउँका खेर गएका सेपिला भू–भागहरुमा अलैंची रोप्ने हो भने उत्पादन राम्रो हुन्छ । र बहुसंख्यक बेरोजगार जनशक्तिलाई पनि यसतर्फ आकर्षित गराउन सकिन्छ ।

नेपालका कृषि उत्पादनका सम्भाव्यताहरु केलाउँदै जाँदा यसवर्ष धान उत्पादनमा सर्वाधिक उत्पादनमा रेकर्ड कायम भयो । आलु र काउलीलगायत तरकारीहरु पनि उल्लेख्य मात्रामा उत्पादन भयो । नेपालमा सम्भाव्यता भएका थुप्रै कृषि उत्पादनहरु भए पनि हामीले गर्नुपर्ने जति सदुपयोग गर्न नसकेकै कारण आज यस्ता उत्पादनहरुमा परनिर्भर छौँ । वनजंगलमा करिब ४५ प्रतिशत भू–भाग ओगटेको भए पनि नेपालमै चाहिने काठ विदेशबाट ल्याइरहेको पाइएको छ । नेपालमै उत्पादित तरकारी, फलफूल र दुधले बजार पाएका छैनन् तर यस्ता कृषि उत्पादनहरु आयातमा नेपालले वर्षेनी अर्बौं रुपैयाँ खर्च गरिरहेको छ । यो भन्दा विडम्बना कृषिप्रधान देश हाम्रो लागि अरु के हुन सक्ला ?

कृषकहरुको सानो प्रयासले मात्र यस्तो समस्या समाधान सम्भव छैन । यतिबेला देशका करिब २० हजार जति कृषकहरुले मात्र अलैंची खेतीको महत्व बुझेका छन् र उनीहरुले यसतिर ध्यान पु-याएका छन् । यो नेपालको सम्भाव्यतामध्ये निकै कम हो । यसमा सरकारले ध्यान दिएर धेरैजसो किसानलाई यसतर्फ लगाउनु जरुरी छ । जसबाट कागजमा मात्र थन्किएको अलैंची उत्पादनको कार्ययोजनालाई व्यवहारमै उतार्न सकियोस् । अलैंची खेती मात्र नभएर यस्तै सम्भाव्यतामा रहेका अन्य खेतीहरु अदुवा, अकबरे खुर्सानी, अम्रिसो, चियाखेती लगायतलाई पनि प्राथमिकतामा राखेर खेती गर्नु र गराइनु अहिलेको आवश्यकता हो । अनि मात्र नेपालको अलैंचीलगायत अन्य वस्तुको अहिलेको उत्पादन र निकासिलाई अझ माथि उकास्न सकिने कुरामा सायदै दुई मत नहोला कि ! 

प्रतिकृया दिनुहोस

कर संकलनमा एक्याप र गाउँपालिकाबीच असमझदारी

(म्याग्दी) — प्राकृतिक स्रोत, साधनमा कर उठाउने र पूर्वाधार निर्माण गर्ने विषयमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र स्थानीय अन्नपूर्ण

एनआईसी एशियाको ‘चमत्कारिक’ योजना

काठमाडौं । एनआईसी एशिया बैंकले २२ वटा चमत्कारिक विशेषता रहेको विभिन्न १५ नयाँ बचत निक्षेप योजना सार्वजनिक गरेको छ । २१ वर्ष पुरा गरी २२ औं वर्षमा

नेप्से बढ्यो, कारोबारमा समेत सुधार

काठमाडौं । बुधबार धितोपत्र बजारमा नेप्से परिसूचक बढेको छ । साताको चौंथो दिन सेयर बजार मापक नेप्से परिसूचक २ दशमलव १ अंकले बढेर १ हजार १ सय ६५ दशमलव ८४