चिकित्सा शिक्षा सुधारका चुनौती

संसारको उत्कृष्ट विश्वविद्यालय कुन हो? अधिकांशको उत्तर आउँछ– हार्वर्ड। निजी भएर पनि उत्कृष्ट बन्न सफल भएको छ यो विश्वविद्यालय। हार्वर्ड विश्वविद्यालय कसरी संसारकै उत्कृष्ट बन्न सफल भयो भन्ने विषयमा अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओवामाले आफ्नो किताबमा समेत बयान गरेका छन्।

हार्वर्डले केवल विश्वविद्यालयको नीति बनायो। त्यो नीति विश्वविद्यालयलाई मात्रै फाइदा हुनेगरी होइन, कसरी उत्कृष्ट शिक्षा दिने भन्नेमा केन्द्रित थियो। उसले आफ्नो नीतिअनुसार सरकारलाई अनुरोध गर्‍यो। उत्कृष्ट विश्वविद्यालय कोठे बहसबाट बन्दैन। बौद्धिक प्राध्यापकको बहसबाट निस्कनु जरुरी छ। हामीकहाँ भने नेतृत्वमा बसेकाले आफू र राजनीतिज्ञको स्वार्थ अनुकूल हुने/नहुने कुरालाई आधार मानेर बहस गर्ने गरेका छन्। त्यसैले नेपालकोे चिकित्सा शिक्षा कमजोर हुँदै गएको छ। 

आजको युगमा चिकित्सा शिक्षा प्रदान गर्ने कलेजमा विद्यार्थी भर्ना बेडको आधारमा होइन, बिरामीको चापको आधार हुनुपर्छ। बिरामीले पाउने उपचार प्रविधि कस्तो छ, महिनामा कुन प्रकारका कति जना बिरामीको उपचार हुने गरेको छ, कस्ता–कस्ता फ्याक्ल्टी बोर्ड छन्, उपचारका कस्तो माध्यम अपनाइएको छ, उपचारमा संलग्न चिकित्सक, प्रध्यापक, सहप्रध्यापक, लेक्चररहरुमा विद्यार्थीलाई राम्रोसँग शिक्षण दिनसक्ने एकेडेमिक सबलता कति छ, जस्ता विषय प्रमुख हुन्।

हाम्रा मेडिकल कलेजमा नक्कली बिरामी खडा गर्ने, अनुगमनमा सोही कलेजका व्यक्ति, सोही विश्वविद्यालयका प्रध्यापक, उही मेडिकल काउन्सिल, स्वास्थ्य मन्त्रालय अनुगमनको नाममा बार्गेनिङको आधार बनाइराखेका छन्। अस्पताल, विश्वविद्यालय, विद्यालय व्यक्ति वा कुनै निकायसँग मात्र सीमित हुन सक्दैन। हरेक नागरिक र राष्ट्रसँग सम्बिन्धित छन् यी विषय। 

हाम्रा विश्वविद्यालयको चिकित्सा शिक्षामा नयाँ अपडेट छैन। अपडेटका लागि विश्वमा भइरहेका प्रगतिहरुको अध्ययन गरिरहने जनशक्ति छैन। कुनै बेला कुनै विश्वविद्यालयले बनाएको पाठ्यक्रमलाई आधार मानेर सुरु पढाउन थालिएको वर्षाैं भइसक्यो। नयाँ प्रविधिमैत्री, अनुसन्धानमुखी, रुचिका आधारमा ‘एभिडेन्स बेस्ड’ क्लिनिकल अभ्यास छैन। केवल समय सकाउनुमा मात्रै सीमित छ। समयअनुसार अपडेट हुनुलाई थप लगानी चाहिन्छ। मेडिकल तथा स्वास्थ्य शिक्षामा आफ्नो व्यापार फस्टाइरहेकाले नियमनकारी निकायका पदाधिकारीहरु यी विषयमा औंला उठाउन चाहँदैनन्। 

केही वर्षदेखि डा गोविन्द केसी चिकित्सा शिक्षालाई मुख्य एजेन्डा बनाएर अनसन बस्दै आएका छन्। सात सय बेडमा बिरामी भरिभराउ हुनुपर्ने, एउटा विभागमा सात प्राध्यापक हुनुपर्ने, उनीहरुअन्तर्गत एसिस्टेन्ट प्रोफेसर, लेक्चरर  हुनुपर्छ। मेडिकल काउन्सिल र स्वास्थ्य मन्त्रालयले नियमित अनुगमन गर्नुपर्छ। अहिले मेडिकल कलेजका अस्पतालमा तीन सय बेडका लागि पुग्ने बिरामीको कुरा छाडौं,  एकजना मात्र प्राध्यापक हुन्छन्। बाँकी सबै नाम मात्रैका देखाइन्छन्। यसले मेडिकल शिक्षा कमजोर नबनाएर के गर्छ ?   

अहिले एउटा प्राध्यापक वा लेक्चररलाई धेरै काम थोपरिएको छ। यसले गर्दा उनीहरु समेत शैक्षिक गुणस्तर प्रवाह गर्न सक्दैनन्। उनीहरुलाई क्लिनिकल वार्डमा बिरामी हेर्ने र विद्यार्थी पढाउने समयकै तालमेल मिलाउन मुश्किल पर्छ। नयाँ कुरा अध्ययन गरेर विद्यार्थीलाई समयसापेक्ष ज्ञान दिने समय कहाँ ? 

इन्टर्नसिपमा डाक्टरलाई सिकाइको अवसर दिइनुपर्छ। तर, मेडिकल कलेजले पर्याप्त कर्मचारी नै राख्दैनन्। उनीहरुलाई प्रशासनिक काम र डाटा इन्ट्रीको काममा बढी अल्झाउने गरिएको छ। 
मेडिकल कलेज नयाँ भर्ना र विद्यार्थी संख्यामा केन्द्रित देखिन्छन्। भर्नामा केही  सुधार भए पनि आर्थिक लेनदेनकै आधारमा भर्ना हुने प्रक्रिया पूर्णतः रोकिएको छैन। मेडिकल शिक्षाको कोटा ‘लिलाम बढाबढ’ मा राखिएको छ। 

हरेक वर्ष तीन हजार डाक्टर उत्पादन गरेर चिकित्सा शिक्षामा सुधार हुने होइन। अहिले चलिआएका मेडिकल  कलेजलाई कसरी गुणस्तर र विश्वस्तरको शिक्षा प्रदान गर्ने भन्नेमा ध्यान जान जरुरी छ। आजको युगमा कुनै देश (चाइना, बंगलादेश, फिलिपिन्स) सँग नेपालको मेडिकल शिक्षा भिडाएर हेर्नुको कुनै तुक छैन। 

अहिले लगभग २५ हजार नेपाली डाक्टर छन् भने त्यसमा ६ हजार विशेषज्ञ छन्। हरेक वर्ष ३ हजारको दरले डाक्टर उत्पादन भइरहेका छन् तर देशले डाक्टरको अभाव भने भोगिरहेकै छ। किनभने यीमध्ये करिब ८ हजार डाक्टर कामविहीन छन्। जसलाई शिक्षित बेरोजागर भन्न सकिन्छ।  

यहाँ मेडिकल शिक्षा सन्तानलाई सेवी डाक्टर बनाउन होइन, स्ट्याटस देखाउन पढाइँदैछ। धेरैलाई यसमा रहेको सेवाको अवसरले होइन, यसप्रतिको ग्ल्यामरले तानेको छ। चिकित्सा शिक्षा पैसा र पावरको आधारमा हासिल गर्न सकिने दिनसम्म गुणस्तरीय चिकित्सा सेवाको अपेक्षा गर्न सकिँदैन। यही अवस्था रह्यो भने अबको केही वर्षमा चिकित्सकीय मर्यादा, मूल्य र सेवी भावना भएका डाक्टर न्यून हुँदै जानेछन्। चिकित्सा क्षेत्र पनि ‘कर्पोरेट बजार’ बन्नेछ। घाउको गहिराइ हेरेर मल्हमपट्टी लगाउने होइन, गोजीको भार हेरेर उपचार गर्ने ‘नियत’ का चिकित्सकहरु हावी हुनेछन्। यो पेसाको मर्यादा जीवित राख्ने हो भने चिकित्सा क्षेत्रकै मान्छे जाग्नुपर्छ। हामी नै बोल्नुपर्छ र हामीले नै सुधारको हिस्सेदार बन्नुपर्छ।

प्रतिकृया दिनुहोस

आयुर्वेदसम्बन्धी भ्रम र यथार्थ

नेपालीले प्राचीनकालदेखि नै आफ्नै गाउँ–घर वरिपरि पाइने जडीबुटीमा आधारित आयुर्वेद औषधिको उपयोगबाट स्वास्थ्य रक्षा गर्दै आएका छन्। लामो

दाँत माझ्नु मात्र मुख स्वास्थ्य होइन

अझै पनि धेरै मानिसलाई मुख स्वास्थ्यका बारेमा जानकारी छैन। दाँत सफा राख्नुपर्छ भन्ने जानेका मानिस पनि मुख स्वास्थ्यबारे अनभिज्ञ छन्। मुख स्वास्थ्य

स्वस्थ जीवनको आधार : स्वस्थ दाँत, स्वच्छ मुख

स्वास्थ्य स–चेतना एवं उपचारका दृष्टिले धेरै पछि परेको हाम्रो जस्तो गरिब मुलुकमा मुख एवं दाँतको स्वास्थ्य गौण छ। दाँत तथा मुख दुखेर खप्नै नसक्ने