आयुर्वेदसम्बन्धी भ्रम र यथार्थ
![](https://radiodevghat.org.np/uploads/news/images/9182855511765405716prakash-2..jpeg)
नेपालीले प्राचीनकालदेखि नै आफ्नै गाउँ–घर वरिपरि पाइने जडीबुटीमा आधारित आयुर्वेद औषधिको उपयोगबाट स्वास्थ्य रक्षा गर्दै आएका छन्। लामो कालखण्डदेखि निरन्तर रुपमा चलिआएको आयुर्वेद एउटा वैज्ञानिक पद्धति हो। यसका आफ्नै विशिष्ट प्रकारका ज्ञान एवं शैली छन्। अहिलेको विश्व वैज्ञानिक सोचलाई बढीभन्दा बढी प्रकृतिसँग दाँजेर हेर्ने र प्रकृतिसँग जोडिएका विषयलाई व्यवहारमा ल्याउने कार्यहरुमा दत्तचित्तले लागेको देखिन्छ।
वेदमा वर्णित आयुर्वेदको विकास मानवको विकास यात्राभन्दा अगाडि भएको हो भन्ने कुरा विभिन्न समयमा गरिएका अध्ययन—अनुसन्धानबाट समेत पुष्टि भइसकेको छ। आत्मा, मन र शरीरको सम्बन्धको बारेमा वेदमा विस्तृत रुपमा व्याख्या गरिएको छ, जुन कुरा आधुनिक चिकित्सा विज्ञानमा अहिले एक्काइसौं शताब्दीमा आएर भर्खरै बहस हुँदैछ। यसै सन्दर्भमा, आयुर्वेदसम्बन्धी केही भ्रम व्याप्त भएकोले ती भ्रम हटाउन यस लेखमा यथार्थको बारेमा जानकारी दिने प्रयास गरिएको छ। आयुर्वेदसम्बन्धी केही भ्रम र यथार्थ यस प्रकार छन्ः
भ्रम : आयुर्वेदमा नाडी परीक्षणबाटै सबै रोगको पहिचान गरिन्छ।
यथार्थ : नाडी विज्ञान आयुर्वेदको एउटा विशिष्ट विधा हो तर पनि मात्र नाडी परीक्षाबाट सबै रोगको पहिचान गर्न सकिँदैन। त्यसैले आधुनिक विज्ञानले आविस्कार गरेका कुनै पनि उपकरणहरु जस्तैः अल्ट्रासाउन्ड, इन्डोस्कोपी, एक्स—रे, सिटी—स्क्यान, एमआरआई तथा विभिन्न प्रकारका जाँच जस्तैः रगत, दिसा, पिसाब, बोन म्यारो, सिएसएफ आदि आयुर्वेदमा पनि उत्तिकै प्रयोग गरिन्छ। यी जाँच विधि तथा उपकरणहरु कुनै एउटा मात्र चिकित्सा पद्धतिको पेवा नभई यस संसारमा प्रचलित सबै प्रकारका चिकित्सा पद्धतिहरुको बराबर हक लाग्ने, रोग पत्ता लगाउन प्रयोग गरिने साधन मात्र हुन्।
भ्रम : जडिबुटीद्वारा गरिने सबै उपचार आयुर्वेद उपचार हुन्।
यथार्थ : वनस्पतीजन्य जडिबुटीलाई उपयोग गरेर उपचार गर्ने धेरै प्रकारका चिकित्सा पद्धति प्रचलनमा रहेका छन्। जस्तैः चिनियाँ परम्परागत उपचार पद्धति, युनानी, शिद्ध, प्राकृतिक चिकित्सा, परम्परागत चिकित्सा, हर्बल मेडिसिन आदि। आधुनिक चिकित्सा पद्धतिमा पनि वनस्पतीजन्य जडिबुटीहरुको सार तत्व प्रयोग गरेर विभिन्न प्रकारका औषधि बनाइन्छ।
आयुर्वेदमा वनस्पतीजन्य जडिबुटीद्वारा मात्र उपचार हुँदैन। आयुर्वेदमा वनस्पती, जनावर तथा विभिन्न प्रकारका खनिज द्रव्यहरुको समिश्रणद्वारा औषधि निर्माण गरिन्छ। ती औषधिहरु विभिन्न प्रकारका शोधन विधिबाट प्रशोधन गरी उपयोग गरिन्छ। आयुर्वेदमा वनस्पतीजन्य मात्र नभएर अन्य प्रकारका रसादि औषधिहरु पनि प्रयोग गरिन्छ। त्यसैले जडिबुटीद्वारा गरिने सबै उपचार आयुर्वेद उपचार होइनन्।
भ्रम : आयुर्वेद अवैज्ञानिक पद्धति हो।
यथार्थ : आयुर्वेद वैदिककालदेखि नै विकास भएको हुनाले कतिपय विषय अन्र्तराष्ट्रिय स्तरको अनुसन्धान पत्रिकामा प्रकाशित हुने कुरै भएन। परम्परादेखि चलिआएको हुनाले कतिपय विषय समय–कालले स्वतः प्रमाणित पनि छन्। तर आधुनिक विज्ञानको सुरुवातसँगै विज्ञानका धेरै विधाहरु जस्तैः बायोकेमिस्ट्री, बायोटेक्नोलोजी, जेनेटिक्स, माइक्रो बायोलोजी, फार्मेसी, जीव विज्ञान, वनस्पती विज्ञान, शरीर रचना, शरीर क्रिया विज्ञान आदिको विकास हुन थालेपछि आयुर्वेदका अनुसन्धानहरुले पनि गति लिन थाले। अहिले आयुर्वेदमा प्रयोग हुने प्रायः सबै विधिहरु वैज्ञानिक परीक्षणबाट शिद्ध गरिएका छन्।
भ्रम : आयुर्वेद औषधि बाटो—घाटो जताततै बिक्री–वितरण गर्न पाइन्छ।
यथार्थ : औषधि व्यवस्था विभागमा दर्ता गरेर मात्र आयुर्वेद औषधि बिक्री–वितरण गर्न पाइन्छ। बाटो—घाटोमा बिक्री–वितरण गरिने औषधिहरु गैरकानुनी हुन्। यी औषधि नक्कली हुनुका साथै विभिन्न प्रकारका पाश्र्व प्रभाव (साइड इफेक्ट) गराउन सक्छन्।
भ्रम : आयुर्वेदको उपचार जसले पनि गर्नसक्छ।
यथार्थ : आयुर्वेद पद्धतिबाट उपचार गर्ने विभिन्न प्रकारका जनशक्ति हुन्छन्। आयुर्वेद पद्धतिबाट सामान्य उपचार गर्न पनि एसएलसी पास गरेपछि कम्तीमा वैद्य स्तरको १५ महिने तालिम लिएर परिषद्मा दर्ता भएको हुनुपर्छ। त्यस्तै कविराज हुन एसएलसी पास गरेपछि तीन वर्षको आयुर्वेद एचए अध्ययन पूरा गरी परिषद्मा दर्ता भएको हुनुपर्छ। आयुर्वेद चिकित्सक हुन दस जोड दुई कक्षामा विज्ञान (बायो) विषय लिई वा आयुर्वेद हेल्थ असिस्टेन्ट पास गरी साढे पाँच वर्ष अध्ययन गरी आयुर्वेद चिकित्सा परिषद्मा दर्ता भएको हुनुपर्छ। साथै विभिन्न विषयको विशेषज्ञको रुपमा काम गर्न आयुर्वेदमा एमडी÷एमएस गरी आयुर्वेद चिकित्सा परिषद्मा विशेषज्ञ दर्ता भएको हुनुपर्छ। यी जनशक्तिहरुबाहेक अरु जोकसैले गर्ने आयुर्वेद उपचार गैरकानुनी र नक्कली हो।
भ्रम : आयुर्वेदिक औषधिको पाश्र्व प्रभाव (साइड इफेक्ट) हुँदैन।
यथार्थ : आयुर्वेदिक औषधिहरु वनस्पती, जनावर तथा विभिन्न प्रकारका खनिज द्रव्यद्वारा निर्माण गरिन्छ। त्यसमध्ये वनस्पती वा जनावरका विभिन्न अङ्ग प्रयोग गरी बनाइएका औषधि तुलनात्मक रुपमा सुरक्षित मानिन्छन्। तर विभिन्न प्रकारका रस–रसादि प्रयोग गरिएका औषधि प्रयोग गर्दा सावधानी अपनाउनुपर्छ। यी औषधिको गहिरो साइड इफेक्ट हुनसक्छ।
भ्रम : आयुर्वेदमा जुनसुकै रोगको पनि ग्यारेन्टीका साथ उपचार गरिन्छ।
यथार्थ : हरेक चिकित्सा पद्धतिका आ–आफ्नै सबल र कमजोर पक्ष हुन्छन्। आधुनिक चिकित्सा पद्धतिको सबल पक्ष भनेको शल्यक्रिया र एन्टिबायोटिक्सको विकास हो। आयुर्वेदको सबल पक्ष पञ्चकर्म, क्षारसूत्र र रसादि औषधि हो। आयुर्वेद आफैंमा एक पूर्ण चिकित्सा हो। त्यसैले यस पद्धतिबाट विभिन्न रोगको सफल उपचार हुन्छ तर जुनसुकै रोगको पनि ग्यारेन्टीका साथ उपचार हँुदैन।
भ्रम : अन्यत्र कतै उपचार नभएमा आयुर्वेदमा उपचार गराउनुपर्छ।
यथार्थ : कुनै पनि रोग उत्पत्तिदेखि विभिन्न चरण पार गर्दै शरीरमा देखापर्ने गर्छ र मानिसलाई रोगी बनाउँछ। त्यसकारण कुनै पनि चिकित्सा पद्धतिबाट सकेसम्म छिटो उपचार गराउनसके सफल हुन सकिन्छ। आयुर्वेदमा उपचार गराउँदा पनि यदि रोगको प्रारम्भिक अवस्थामैं उपचार गराउन सकियो भने राम्रो नतिजा आउँछ। त्यसकारण सकेसम्म पहिला आयुर्वेदमा उपचार गराउनु राम्रो हुन्छ। अन्यत्र कतै उपचार नभएर आयुर्वेदमा उपचार गराउँँदा ढिलो भइसकेको हुनसक्छ।
भ्रम : आयुर्वेदमा झारफुकद्वारा तथा नाइटोमा औषधि राखेर पनि उपचार गरिन्छ।
यथार्थ : आयुर्वेदका प्राचीन ग्रन्थहरु तथा आधुनिक वैज्ञानिक खोजहरुले कहीं–कतै पनि झारफुकद्वारा तथा नाइटोमा औषधि राखी उपचार गर्नेबारे व्याख्या गरेका छैनन्। गाउँघर तथा सहरमा देखिने यस्ता क्रियाकलापहरु गैरकानुनी तथा ठगिका चरम रुप हुन्। यी विधिहरुको कुनै पनि प्राचीन वा वैज्ञानिक आधार छैन। बरु आयुर्वेदमा मनोवैज्ञानिक उपचारका कैयौं राम्रा विधिको व्याख्या गरिएको छ।
भ्रम : आयुर्वेद उपचारले ढिलो निको हुन्छ।
यथार्थ : विभिन्न रोग उत्पन्न हुने र निको हुने समय फरक—फरक हुन्छ। कतिपय रोग जस्तैः मधुमेह, प्रेसर, बाथ आदिको औषधि जीवनभरि खानुपर्ने हुनसक्छ। कुनै रोग जस्तैः ग्यास्ट्राइटिस, पिनास, कासको औषधि केही समय खाएपछि निको हुन्छ। यो कुरा आयुर्वेद, आधुनिक चिकित्सा तथा अन्य चिकित्सा पद्धतिमा बराबर लागू हुन्छ। त्यसैले, आयुर्वेद उपचारले ढिलोगरी निको हुने होइन, बरु रोगको प्रकृतिअनुसार विभिन्न चिकित्सा विधामा हरेक रोगलाई करिब उस्तै समय लाग्छ।
भ्रम : आयुर्वेदको उपचारमा धेरै खानेकुरा बार्नुपर्छ।
यथार्थ : कुनै पनि रोगमा सो रोग उत्पन्न गराउने विभिन्न कारण हुन्छन्। ती कारणहरु वंशाणुगत, वातावरणीय, खानपिन, रहनसहन आदि हुन्। यी कारणमध्ये खानपिन र रहनसहन आफैंले नियन्त्रण गर्न सकिन्छ। त्यसैले आधुनिक चिकित्सा तथा अन्य चिकित्सा पद्धतिमा बराबर रुपमा खानपिन तथा रहनसहन मिलाउन बिरामीलाई परामर्श दिनुपर्ने हुन्छ। यो अकाट्य सत्य हो। त्यसैले रोगअनुसारको खानपिन र रहनसहन सबै पद्धतिमा मिलाउनुपर्छ, आयुर्वेदमा मात्र होइन।
भ्रम : आयुर्वेदमा संक्रामक रोगको उपचार हँुदैन।
यथार्थ : आयुर्वेद पद्धतिद्वारा पनि संक्रामक रोगहरु जस्तै कमलपित्त (जन्डिस), टाइफाइड, औलो ज्वरो, निमोनिया आदिको उपचार हुन्छ तर एन्टिबायोटिक्सको विकासको कारणले छिटो–छरितो उपचारको लागि कमलपित्तबाहेक धेरैको छनोट आधुनिक चिकित्सा पद्धति नै हुने गरेको छ।
(ज्ञवाली नेपाल आयुर्वेद चिकित्सक संघका अध्यक्ष हुन्)
![](https://radiodevghat.org.np/uploads/news/images/thumb255/43453239716026756prakaah..jpeg)
चिकित्सा शिक्षा सुधारका चुनौती
संसारको उत्कृष्ट विश्वविद्यालय कुन हो? अधिकांशको उत्तर आउँछ– हार्वर्ड। निजी भएर पनि उत्कृष्ट बन्न सफल भएको छ यो विश्वविद्यालय। हार्वर्ड
![](https://radiodevghat.org.np/uploads/news/images/thumb255/8375407252068726369samarika..jpeg)
दाँत माझ्नु मात्र मुख स्वास्थ्य होइन
अझै पनि धेरै मानिसलाई मुख स्वास्थ्यका बारेमा जानकारी छैन। दाँत सफा राख्नुपर्छ भन्ने जानेका मानिस पनि मुख स्वास्थ्यबारे अनभिज्ञ छन्। मुख स्वास्थ्य
![](https://radiodevghat.org.np/uploads/news/images/thumb255/803061301462064936prakash..jpeg)
स्वस्थ जीवनको आधार : स्वस्थ दाँत, स्वच्छ मुख
स्वास्थ्य स–चेतना एवं उपचारका दृष्टिले धेरै पछि परेको हाम्रो जस्तो गरिब मुलुकमा मुख एवं दाँतको स्वास्थ्य गौण छ। दाँत तथा मुख दुखेर खप्नै नसक्ने
प्रतिकृया दिनुहोस